Pages

2011/05/28

तल्लोघरको ठुले कतार गयो रे !

तल्लोघरको ठुले पनि कतार गयो नि ! गाउँबाट एक साथीले फोनमा सुनायो । दोस्रो श्रेणीमा एसएलसी पास गरेपछि गाउँकै उच्चमाध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्न सुरु गरेको उसलाई पारिवारीक जिम्मेवारीका लागि पैसा कमाउने एक मात्र उपाय देख्यो विदेश जाने । अव उसको जग्गा जमिन बाझो हुनेछ भने परिवार विदेशबाट पठाएको पैसाले बजारबाट चामल किनेर खानेछन् ।

ठुले आम नेपाली युवाको प्रतिनिधि पात्र मात्र हो । कयौ ठुलेहरु विदेशको सपना देखिरहेका छन् । नेपालमा दुई वर्गका युवा छन् । एकथरी सरकारी स्कुल पढ्ने र अर्काथरी बोर्डिङ स्कुल । केही समयअघिसम्म सरकारी स्कुल पढ्ने युवाको सपना काठमाडौं हुन्थ्यो अव त्यो युवा पासपोर्ट सिरानमा राखेर सके युरोप नभए खाडी देशको सपना देख्न थालेको छ ।
बोर्डिङ पढ्ने सहरका युवाको हालत पनि उस्तै छ । अस्तव्यस्त देश अनि अनिश्चित भविश्य देख्ने युवाको रोजाई अमेरिका, युरोप हुदै एसीयन देश जापान हुन थालिसकेको छ । बत्ती छैन, पानी छैन, जागीर छैन, जागीरका लागी नेताहरुसँग भनसुन गर्नुपर्छ, बन्द ..., हड्ताल, ह्या... !!! यस्तो झुर देशमा को बस्छ...युवाको मुखबाट सुनिने शब्द हो । फरक यति छ कि ग्रामीण युवा पैसा कमाएर घरपरिवार बसाउने सपना देख्छ त सहरीया युवा भने उत्तै बस्न चाहान्छ ।

एक शताब्दीअघि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले डलरको लोभमा एक लाख नेपाली युवालाई विश्वयुद्ध लड्न पठाए । समय परिवर्तन भयो, शासक परिवर्तन भए र युवामाथीको दासत्वको वास्तविकता जहाँको तहीं छ । देशको मेरुदण्ड मानिने युवाशक्ति विदेश पलायन भइरहँदा योजनाविद्धहरु अझै रेमिटेन्सको आँकडामा धाक गर्छन । अनि देशका नाइके सोही रेमिटेन्सले आफ्नो पेट भर्छ ।

राणाशासन देखि दोस्रो जनआन्दोलनसम्म परिवर्तनको नेतृत्व युवाले नै गरेका छन् । १० वर्षे जनयुद्धले ग्रामीण युवालाई पनि सपना देख्न सिकाइदियो । तर, अस्तव्यत राजनीतिकले दिक्क भएको सहरीया युवा देशभक्तीको नारा लगाउन चाहदैन । आम शिक्षित सहरिया युवा मूलधारको राजनीतिबाट बिलकुल बिमुख छ । उ जय नेपालमा हलमा गएर रङ दे बसन्ती हेर्छ । फिल्मको तीनघण्टे असर उसको जीउभरि सल्बलाउँछ । तर जसै उ हलको अँध्यारोबाट वास्तविक जीवनको उज्यालोमा आफूलाई पाउँछ, उ अर्कै प्राणी बन्छ, दैलोअगाडि भइरहेको परिवर्तकामी राजनीतिक आन्दोलनबारे अनभिज्ञ र सरोकारविहीन ।

कूल जनसंख्याको करिब २० प्रतिशत अर्थात ५६ लाख युवाले परिवर्तको आभास पाएका छैनन् । मुलुकको योजना तर्जमा गर्न सर्वोच्च निकाय राष्ट्रिय योजना आयोगले हालै मात्र युवा इकाई गठन गरेको छ । गणतान्तिक सरकारले युवा नीति त बनाएको छ । तर यो जमातलाई सम्बोधन गर्न कुनै नीति कार्यक्रम बन्न सकेका छैनन् ।

खतराको सुचक के हो भने युवामा निराशावादी सोचले जरा गाडेको छ । तर, सुदूर क्षितिजमा पनि कतै सुन्दर नेपालको नसा समेत देखिदैन । सबै नीतिलाई लिड गर्ने राजनीति हो तर मूल नीति नै ठिक ठाउमा छैन । त्यसमाथि युवा नेताहरुले समेत युवाका एजेण्डा भन्दा आफूलाई लोकप्रिय बनाउने एजेण्डा अघि सार्न गरेका छन् ।

मेरो एक साथी छ, त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नाकोत्तर गरेको । उ हाल दैनिकी नै बनेको छ, झोलामा प्रमाणपत्र कोचेर अन्तवार्ता दिन कार्यालय धाउनु अनि बेलुकी फेसबुकमा निराशाका स्ट्याटस राख्नु, काम पनि नभेट्टाएको होइन उसले तर, १० हजार रुपैयाँभन्दा बढि तलबको अफर आएन । काठमाडौँको महँगो जीवनशैलीमा १० हजार रुपैयाँले जीवन नधान्ने कुरा उसलाई राम्रो हेक्का छ । केहि देन अगाडी उसले फेसबुकमा स्ट्याटस राख्यो “यो देशमा बसेर उन्नती होला जस्तो छैन” अब केही समयमा उ सके अमेरिका, युरोप, जापान वा अरब पुग्ने त छँदैछ ।
२०६८ जेठ १० गते (सुनकोशी साप्ताहिक)

2011/05/11

युवा रोजगारका लागि आईटी क्रान्ति

बेरोजगारी समस्याले देशको ठूलो हिस्सा युवा जनशक्तिको प्रयोग नहुँदा समग्र मुलुकको अर्थतन्त्रमा नै ओरालो लागिरहेको छ । देश विकासको मेरुदण्ड मानिने युवा जनशक्ति उल्टो देशकै लागि भार बनिरहेको छ । ठुलो युवा जमात विदेशमा गएर आफ्नो श्रम बेच्न बाध्य छन् ।

स्वभाविक हो नयाँ पुस्ता नयाँ काम गर्न चाहान्छन् । परम्परागत पेशालाई निरन्तरता दिन चाहादैनन् । यो बेला नीति निर्माताले सोच्नु पर्ने कुरा वेरोजगार बसेका युवा र बाहिर जाने शक्तिलाई रोक्न र देश विकासमा प्रयोग गर्न विकल्प बन्न सक्छ स्वरोजगारका लागि आईटी (सूचना प्रविधि) क्रान्तिको ।

हावा कुरा भनेको हो कि लाग्न सक्छ । तर हैन नि त्रिभुवन विश्वविद्यालय (टियु) केन्द्रीय आईटी विभागका विद्यार्थीले नै ‘स्वरोजगारका निम्ति आईटी क्रान्ति’ अभियान सुरु गरेका छन् । देशका नीति निर्माताहरु निदाएका बेला युवा पुस्ताबाट सुरु भएको सिजर्नशिल काम स्वागतयोग्य छ । ‘स्वरोजगारका लागि आईटी क्रान्ति’ र आईटी क्रान्तिमार्फत आर्थिक समृद्धि मुलुकको सपना देखेका छन् आईटी पुस्ताले । व्याप्त बेरोजगारीबाट घरेलु दक्ष जनशक्ति पलायन हुन नदिन र आईटी क्षेत्रबाट स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले युवापुस्ताबाटै सुरु भएको अभियान नीति निर्माताका लागि दवाव हो ।
बेरोजगारी समस्या भोगिरहेको नेपालका लागि विकल्प आईटी क्षेत्र बन्न सक्छ । नेपालको अर्थतन्त्रका प्रमुख स्रोत कृषि र पर्यटनमा सूचना प्रविधिको विकास गर्न सकियो भने स्वरोजगारीको सिर्जना हुन्छ । बेरोजगारी न्यूनीकरण गर्न, दैनिक जीवनलाई सहज बनाउन र उच्च अर्थतन्त्र वृद्धिका लागि पनि आईटी क्रान्ति हुनु आवश्यक मानिन्छ । सहरी क्षेत्र र दुर्गम गाउँमा बस्ने मानिसहरूबीच रहेको सूचना प्रविधिमाथिको पहुँच दूरीलाई कम गर्नुनै छोटो शब्दमा आईटी क्रान्ति हो ।

आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा देखिएको दूरीलाई कम गर्नसमेत आईटी क्रान्तिबाट सम्भव छ ।
१७ औँ शताब्दीको कृषि अर्थतन्त्रलाई औद्योगिक क्रान्तिले जसरी औद्योगिक अर्थतन्त्रका रूपमा स्थापित ग¥यो त्यसरी नै आईटी क्रान्तिले अर्थतन्त्रलाई मजबुत बनाउनुका साथै समाजलाई आर्थिक सशक्तीकरणको गोरेटोमा डो¥याउन सक्छ ।

मिठा गफ मात्र होइन । विज्ञहरु नै भन्छन्, नेपाल आईटी विकासका लागि उर्बर भूमि हो । भारतको पछिल्लो आर्थिक प्रगतीको कारण पनि आइटीको विकास र यस क्षेत्रको दक्ष जनशक्ति । त्यहि काम नेपालमा पनि ल्याउन सनिके सम्भावना छ । भारतको तुलनामा विदेशी आईटी कम्पनीको काम (आउट सोर्सिङ) कार्य नेपालबाट गरे सूचना प्रविधि सामग्री ३५ प्रतिशत सस्तो हुने देखिएको छ । यो अवसरलाई सदुपयोगका गर्ने बेला आएको छ । आइटी पार्क जस्ता पूर्वाधार र युवा जनशक्तिलाई परिचालन गर्न ढिला गर्नु हुदैन ।

हाम्रो गती ढिलै भएपनि सकारात्मक दिशातर्फ छ । इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनद्वारा १ सय ५९ मुलुकमा गरिएको सूचना प्रविधिसम्बन्धी सर्वेक्षणमा नेपाल १४२ औँ स्थानमा छ । ‘मेजरिङ दी इन्फरमेसन सोसाइटी २०१०’ ले सार्वजनिक गरेको तथ्यांकमा सूचना प्रविधि सूचकांक १.०४ बाट बढेर १.३४ पुगेको देखाएको छ । कछुवा गतिमा भइरहेको आईटी विकास भए पनि सकारात्मक मान्नु पर्छ ।

देशले आवश्यक्ता हेरेर योजनाका साथ जनशक्ति उत्पादन गर्ने बेला भइसकेको छ । सरकारले विद्यालय तथा १० जोड २ सम्मका शैक्षिक संस्थामा कम्प्युटर शिक्षा अनिवार्य गर्ने भनिए तापनि समग्र रूपमा कार्यान्वयन गर्न सकेको छैन । संविधान बन्दै गरेका बेला माँग हरुको थुप्रोमा युवाहरुको तर्फबाट एउटा माँग पनि शसक्त राखौ–आईटी क्रान्तिलाई सशक्त पार्न संविधानमा नै सूचना प्रविधि शिक्षालाई मौलिक शिक्षा बनाइनुपर्छ ।
सुनकोसी साप्ताहिकमा वैशाख २८ गते (11 may) प्रकाशीत

चाहाना परिवर्तनको

“आई वान्ट चेन्ज माई लाईफ” गत साता आर्ट अफ लिभिङ (जीवन जिउने कला) योग शिविरको पहिलो दिन शिविरबाट तपाईको अपेक्षा के छ ? भनेर सोधीएको प्रश्नमा एक सहभागीले उत्तर दिएका थिए । उनको उत्तर सुन्दै गर्दा एक साथीले फेसबुक स्ट्याटस याद आयो “यो दिमाग फम्यार्ट गर्न पाए नि हुन्थ्यो नि !”

यी दुई प्रतिनिधि युवाको भावनालाई विचार गर्दा पुग्छ आधुनिक युवाको चिड्चिडिहाट र त्यसबाट मुक्तीका लागि परिवर्तन चाहान्छन् । यसका लागि विकल्प बनेका छन् योग, ध्यान र अध्यात्म प्रवचनका शिविरहरु ।

टेलिभिजनमा मात्र योग, ध्यानबारे हेरेको यो स्तम्भकारका लागि योग शिविरमा भाग लिनु फरक अनुभव लिने मौका थियो । योग प्रशिक्षक डा योगी विकासनन्दको योग र ‘मोटिभेसन’का प्रवचनहरु सुनेर चासो भने लागेको थियो । काठमाडौंका गल्ली–गल्लीमा देखेका योग केन्द्रका साथै भारतका योग गुरु नेपाल आउँदा लागेको भिडले पनि योगप्रति चासो बढेको हो ।
‘आर्ट अफ लिभिङ’ भारतका रविशंकरले आविश्कार गरेको एक आध्यात्मीक ध्यान विधि हो । यसै साता नेपाल आएका उनले खुल्लामञ्चमा हजारौ मानीस ध्यान र अध्यात्म सिकाए । आजभोली अध्यात्म र ध्यानमा युवा मन आकर्षित हुदैछ । आर्ट अफ लिभिङ’ को नेपालमा अनुयायी २५ हजार भन्दा बढी छन् । त्यसमा ५० प्रतिशत भन्दा धेरै कलेजमा अध्ययनरत युवायुवती छन् । त्यसैगरी ओशोको तपवन, स्वामी आनन्द अरुण र डा विकासान्नदका शिविरहरुमा युवायुवतिको ठुलो भिड लाग्न थालेको छ ।

एक तथ्यांक अनुसार नेपालका एक युवाले एक हजार युवासँग प्रतिस्पर्धा गर्नुपर्छ । यसैले युवालाई मानसिक तनाव व्याप्त छ । द्धन्द्धपछिको सक्रमणकालीक राजनीतिक अवस्थामा बेरोजगारीका कारणले युवाको समस्या झन् बढ्दो छ ।

दौडधुप र प्रतिस्पर्धात्मक स्वार्थी दुनियमा युवाका लागि जीवन जिउने कला त झनै आवश्यक छ । समस्या र तनावका विचमा पनि सकारात्मक सोचका साथ शान्त जीवन जिउनका लागि ध्यान र योगका शिविर उपयुक्त हो । शान्त जीवन बिताउन, जीवनमा सफलता पाउन र दुव्र्यसनीबाट छुटाउनका लागि पनि योग केन्द्रहरु उपयुक्त केन्द्र बन्न सकिन्छ ।
तीन दिनको योग शिविर सकिएपछि पाएको सबैभन्दा ठुलो कुरा भनेको मनको शान्ति हो । जसन हामीले बाहिरी संसारबाट पाउन असम्भव छ । बाहिरी संसारबाट पाउने आनन्द क्षणिक हुन्छ भने अन्तरमनबाट प्राप्त हुने आनन्द र आत्वविश्वास दिर्घकालिन हुन्छ ।
सुनकोसी साप्ताहिकमा वैशाख २१ गते (4 may) प्रकाशीत

अनुजासँग जोडिएको प्रसंग

बुधबार एक राष्ट्रिय दैनिकको पहिलो पृष्ठमा समाचार आयो ‘धन्य अनुजा, जसले भेट्टिएको ९१ लाख फिर्ता गरीन्’ भोलिपल्ट उनलाई राष्ट्रपति डा. रामवरण यादव, प्रधानन्याधिस रामप्रसाद श्रेष्ठले टेलिफोनबाट बधाई दिएको अझ राष्ट्रपतिले काठमाडौं आउँदा आफूलाई भेट्न निम्तोसमेत दिएको समाचारले स्थान पायो ।

कुरा हो, अनुजा बानियाँ २२ वर्षीया युवतीको । जसले बसमा हिराको हारसहित ९१ लाख रुपियाँको पोको भेटेनि अरे अनि जसको हो उसैलाई उसैलाई फिर्ता गरिन् । सुन्दै अचम्म लाग्ने, अझ अचम्मको कुरा त अनुजाले ती पैसा धनीले पुरस्कारस्वरुप दिएको २ लाख रुपैयाँ र हिराको हार लिन मानिनन् रे । अधिकाशंले यो कुरा पत्यार गर्न सकेनन् । यसबारे सोधखोज हुदै गएपछि घटना झुट सावित भइसकेको छ । प्रकरणले विभिन्न प्रसंग समेत जोडिएर आएको छ ।

अनुजा बानियाँ– ‘धन भनेपछि महादेवको पनि तीन नेत्र’ सम्पतीको कुरा आउने वित्तीकै नेपालीको उखान अगाडी आइहाल्छ । एक २२ वर्षिया युवती (प्रकाशित फोटो हेर्दा उनको स्वाभाव यस्तो देखिदैन जसले हातमा परेको करोडौ रुपैयाँ फिर्ता गर्न सकोस्) जसले ९१ लाख फिर्ता गरेको भन्ने वित्तीकै पत्याउने हामी कति मूर्ख ! रातारात चर्चामा ल्याउन उनले गरेको नाटकले सम्पति र लोकप्रियताका लागि ‘जे’ पनि गर्न तयार हुने नेपाली युवाको उल्टो मनोवृत्तीलाई उदांगो बनाएको छ ।
एक दशक लामो शसस्त्र द्वन्द्व, राजनीतिक दलको खिचातानीले देश दिनदिनै ओरालो लाग्दैछ । बढ्दो बेरोजगारीसँगै युवाहरुमा स्वदेशबाट पलायन या त खराव र अपराधिक मानसिकताले डेरा जमाउँदैछ । हाम्रो शिक्षा, आत्मनिर्भर बनाउने भन्दा पनि बेरोजगार उत्पादन गर्ने कारखाना बनीरहेको छ । नैतिकताको धरातल दिनदिनै कमजोर हुँदै गएको विषय सोचनिय छ ।

‘अनुजा त खराव रै छिन्’, भनेर मात्र यो प्रकरणको सहि विश्लेषण हुदैन । चर्चा र सम्पतिका लागि धेरै नेपाली युवाले गरेका हर्कत केलाएर हाम्रो समग्र प्रणालीमा नै सुधार जरुरी छ ।

आमसंचारमाध्यम ः अनुजालाई संचारमाध्यमले सार्वजनिक गर्र्यो । समाचारले एक÷दुई दिनका लागि उनलाई त फाइदै भयो होला तर विविध आरोप खेपिरहेको नेपाली सञ्चार माध्यमलाई भने यो प्रकरण ‘एैजेरु’ बनेको छ । समाचारमा सामान्य प्रश्नका उत्तर (को, के, कुन) जस्ता सामान्य कुराहरु आवश्यक हुन्छ । तर समाचारमा एकतर्फी रुपमा पाएको सुचनाको आधारमा मात्र समाचार बनाउदा गम्भिर त्रुटी भएको हो । आगामी दिनमा यस्तो प्रवृत्तीबाट बच्नका लागि नेपाली सञ्चारमाध्यमले सचेत बन्नुपर्ने पाठ सिकाएको छ । पैसा बुझेको व्यक्तिसँग नसोधिकन समाचार किन लेखियो, अनुजाले भनेका कुराप्रति किन क्रस चेक गरीएन, साधारण व्यक्तिले पत्याउन नसक्ने कुरा पत्रकारले किन छिट्टै विश्वास ग¥र्यो ? जस्ता प्रश्न उठेको छ ।

राष्ट्रपति र प्रधानन्याधिश ः घटना सुन्ने वित्तीकै सामान्य मानिस, जो कोहीले पनि तत्कालै विश्वास गर्ने खालको छैन । तर, अनुजाको कुरा सुन्नेवित्तीकै हतारमा राष्ट्र प्रमुख राष्ट्रपतिले हतारमा बोलको कारण नैतिक संकट आएको छ । राष्ट्रपति जस्तो उच्च ओहोदामा बसेको व्यक्तिलाई कुनै कुरामा हतारमा क्षणिक टिप्पणीको आवश्यक थियो र ? कि हाम्रा राष्ट्रपति महोदयले पनि लोकप्रियता खोजेका हुन् कि !

चौटा खान गा’की बुढी झोलमा डुबेर मरी भन्ने उखान अनुजाका लागि चरितार्थ भएको छ । दुई दिनमा उनले जति लोकप्रियता पाइन् अब त्यो भन्दा कयौ गुणा बढी बदनामीको पात्र हुनपर्नेछ । पुरै देशसँग प्रकरण जोडिएकाले यसको छानविन हुन जरुरी छ । यस प्रकरणमा राज्यले के गर्ला, सञ्चारमाध्यमको भूमिका होला कि नहोला, अनुजालाई कस्तो कारवाही होला ? सबै नेपाली यी प्रश्नको जवाफ कुरीरहेका छन् ।
सुनकोसी साप्ताहिकको ‘युथ कर्नर’ स्तम्भमा वैशाख १४ गते (27 April ) मा प्रकाशीत