तल्लोघरको ठुले पनि कतार गयो नि ! गाउँबाट एक साथीले फोनमा सुनायो । दोस्रो श्रेणीमा एसएलसी पास गरेपछि गाउँकै उच्चमाध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्न सुरु गरेको उसलाई पारिवारीक जिम्मेवारीका लागि पैसा कमाउने एक मात्र उपाय देख्यो विदेश जाने । अव उसको जग्गा जमिन बाझो हुनेछ भने परिवार विदेशबाट पठाएको पैसाले बजारबाट चामल किनेर खानेछन् ।
ठुले आम नेपाली युवाको प्रतिनिधि पात्र मात्र हो । कयौ ठुलेहरु विदेशको सपना देखिरहेका छन् । नेपालमा दुई वर्गका युवा छन् । एकथरी सरकारी स्कुल पढ्ने र अर्काथरी बोर्डिङ स्कुल । केही समयअघिसम्म सरकारी स्कुल पढ्ने युवाको सपना काठमाडौं हुन्थ्यो अव त्यो युवा पासपोर्ट सिरानमा राखेर सके युरोप नभए खाडी देशको सपना देख्न थालेको छ ।
बोर्डिङ पढ्ने सहरका युवाको हालत पनि उस्तै छ । अस्तव्यस्त देश अनि अनिश्चित भविश्य देख्ने युवाको रोजाई अमेरिका, युरोप हुदै एसीयन देश जापान हुन थालिसकेको छ । बत्ती छैन, पानी छैन, जागीर छैन, जागीरका लागी नेताहरुसँग भनसुन गर्नुपर्छ, बन्द ..., हड्ताल, ह्या... !!! यस्तो झुर देशमा को बस्छ...युवाको मुखबाट सुनिने शब्द हो । फरक यति छ कि ग्रामीण युवा पैसा कमाएर घरपरिवार बसाउने सपना देख्छ त सहरीया युवा भने उत्तै बस्न चाहान्छ ।
एक शताब्दीअघि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले डलरको लोभमा एक लाख नेपाली युवालाई विश्वयुद्ध लड्न पठाए । समय परिवर्तन भयो, शासक परिवर्तन भए र युवामाथीको दासत्वको वास्तविकता जहाँको तहीं छ । देशको मेरुदण्ड मानिने युवाशक्ति विदेश पलायन भइरहँदा योजनाविद्धहरु अझै रेमिटेन्सको आँकडामा धाक गर्छन । अनि देशका नाइके सोही रेमिटेन्सले आफ्नो पेट भर्छ ।
राणाशासन देखि दोस्रो जनआन्दोलनसम्म परिवर्तनको नेतृत्व युवाले नै गरेका छन् । १० वर्षे जनयुद्धले ग्रामीण युवालाई पनि सपना देख्न सिकाइदियो । तर, अस्तव्यत राजनीतिकले दिक्क भएको सहरीया युवा देशभक्तीको नारा लगाउन चाहदैन । आम शिक्षित सहरिया युवा मूलधारको राजनीतिबाट बिलकुल बिमुख छ । उ जय नेपालमा हलमा गएर रङ दे बसन्ती हेर्छ । फिल्मको तीनघण्टे असर उसको जीउभरि सल्बलाउँछ । तर जसै उ हलको अँध्यारोबाट वास्तविक जीवनको उज्यालोमा आफूलाई पाउँछ, उ अर्कै प्राणी बन्छ, दैलोअगाडि भइरहेको परिवर्तकामी राजनीतिक आन्दोलनबारे अनभिज्ञ र सरोकारविहीन ।
कूल जनसंख्याको करिब २० प्रतिशत अर्थात ५६ लाख युवाले परिवर्तको आभास पाएका छैनन् । मुलुकको योजना तर्जमा गर्न सर्वोच्च निकाय राष्ट्रिय योजना आयोगले हालै मात्र युवा इकाई गठन गरेको छ । गणतान्तिक सरकारले युवा नीति त बनाएको छ । तर यो जमातलाई सम्बोधन गर्न कुनै नीति कार्यक्रम बन्न सकेका छैनन् ।
खतराको सुचक के हो भने युवामा निराशावादी सोचले जरा गाडेको छ । तर, सुदूर क्षितिजमा पनि कतै सुन्दर नेपालको नसा समेत देखिदैन । सबै नीतिलाई लिड गर्ने राजनीति हो तर मूल नीति नै ठिक ठाउमा छैन । त्यसमाथि युवा नेताहरुले समेत युवाका एजेण्डा भन्दा आफूलाई लोकप्रिय बनाउने एजेण्डा अघि सार्न गरेका छन् ।
मेरो एक साथी छ, त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नाकोत्तर गरेको । उ हाल दैनिकी नै बनेको छ, झोलामा प्रमाणपत्र कोचेर अन्तवार्ता दिन कार्यालय धाउनु अनि बेलुकी फेसबुकमा निराशाका स्ट्याटस राख्नु, काम पनि नभेट्टाएको होइन उसले तर, १० हजार रुपैयाँभन्दा बढि तलबको अफर आएन । काठमाडौँको महँगो जीवनशैलीमा १० हजार रुपैयाँले जीवन नधान्ने कुरा उसलाई राम्रो हेक्का छ । केहि देन अगाडी उसले फेसबुकमा स्ट्याटस राख्यो “यो देशमा बसेर उन्नती होला जस्तो छैन” अब केही समयमा उ सके अमेरिका, युरोप, जापान वा अरब पुग्ने त छँदैछ ।
२०६८ जेठ १० गते (सुनकोशी साप्ताहिक)